
काठमाडौँ — पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध महामन्त्री गगन थापाले सार्वजनिकरुपमै असन्तुष्टि पोखिरहेका छन् । सभापति देउवाले पनि सार्वजनिक मञ्चबाटै जवाफ दिएका छन् । गत शुक्रबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पार्टी नेतृत्वमा रहेका केही व्यक्तिले गरेका गल्तीको भारी आफूहरूले बोक्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्टै सभापति देउवाले पनि पार्टीमा नेतृत्वलाई गाली गरेरमात्रै केही नहुने जवाफ दिए ।
सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसमा पछिल्लो समय नेताहरूका यस्तै घोचपेच र सवालजवाफ बाहेक सन्नाटा छ । उपनिर्वाचनको परिणाम, सत्ता समीकरणमा लेनदेन र नक्कली भुटानी शरणार्थी प्रकरणले आन्तरिक शक्ति संघर्ष चुलिएपछि कांग्रेसका औपचारिक छलफल र बैठक बस्न सकेको छैन ।
जेठ महिनाभर वडादेखि क्षेत्र, जिल्ला र प्रदेशहरूमा सम्मेलन गर्न निर्देशन गरेको कांग्रेसले केन्द्रमा भने बैठकसमेत गर्न सकेको छैन । सभापति देउवाले १० महिनादेखि केन्द्रीय समिति बैठक नै राखेका छैनन् भने राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण सवालमा समेत पार्टीभित्रका छलफललाई टार्दै लगेका छन् । पार्टी विधानको पालनाभन्दा पार्टीभित्रका प्रतिपक्षीलाई पेलेर जाने देउवा नीति हाबी भएको नेताहरूको आरोप छ ।
त्यहीकारण १९ जेठमा महामन्त्री थापाले देउवामाथि उनको अकर्मण्यता औंल्याउँदै देउवाले गरेका गल्तीको भारी आफूहरू बोक्न नसक्ने बताएका थिए । ‘जसले गल्ती गर्छ, दण्डित पनि उही हुनुपर्छ । हामी आफूले गर्दै नगरेको गल्तीको भारी बोक्न सक्दैनौं,’ महामन्त्री थापाले भनेका थिए, ‘नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी होइन, एउटा व्यक्तिको मनमोजी चल्ने कुरा सम्भव छैन ।’
थापाले सार्वजनिक मञ्चबाट देउवाको अकर्मण्यताबारे बोलेकै भोलिपल्ट सभापति देउवाले जवाफ फर्काउँदै पार्टीमा काम गर्न चाहने कसैलाई पनि नरोकेको दाबी गरे ।‘पार्टी बनाउनका लागि जनतासँग जानुपर्छ, जनसम्पर्क चाहिन्छ । पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । गाली गरेर केही हुनेवाला छैन । विरोध गरेर पार्टी बन्नेवाला छैन,’ कांग्रेसको ललितपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘मैले त पार्टीलाई पहिलो बनाएँ, संसद्मा । क्याम्पसको चुनावमा समेत नेविसंघ पहिलो बनेको छ । अहिले पार्टीले जितेको छ । मैले त जिताएँ, अब म पार्टी सभापति हुनेवाला होइन, मैले त सहयोग गर्नेमात्रै हो । तपाईंहरू एकताबद्ध भएर अघि बढ्नुहोस् ।’आफ्नो कार्यशैलीमाथि प्रश्न उठेपछि दबाबमा परेका देउवाले यसपटक अब आफू सभापति नबन्ने सार्वजनिक घोषणा नै गरे, तर महामन्त्रीद्वय थापा र शर्मामात्रै होइन, दोस्रो पुस्ताका धेरै युवा नेताहरू देउवाले यही कार्यकाल पुरानै चरित्र प्रदर्शन गरे अर्को चुनावपछि पार्टी नराम्ररी खुम्चिएर जाने त्रासमा छन् ।मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भए पनि कांग्रेसको निर्णय प्रक्रियामा भने अझै पनि पार्टीको सभापति नै हाबी हुने गरी विधानको प्रबन्ध छ । अझ १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा दुई तिहाई बहुमत पाएका सभापति देउवाले त्यसयता पार्टीभित्र मनलाग्दी अभ्यास गर्दै आएका छन् ।
मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भए पनि कांग्रेसको निर्णय प्रक्रियामा भने अझै पनि पार्टीको सभापति नै हाबी हुने गरी विधानको प्रबन्ध छ । अझ १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा दुई तिहाई बहुमत पाएका सभापति देउवाले त्यसयता पार्टीभित्र मनलाग्दी अभ्यास गर्दै आएका छन् ।
महाधिवेशनबाट सभापतिमा देउवा तथा महामन्त्रीमा थापा र विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिमा युवा र नयाँ अनुहारको उल्लेख्य प्रतिनिधित्व हुँदा संगठनमा तरंग पैदा गरेको कांग्रेसले महाधिवेशनपछि भएका चुनावमा भने त्यहीअनुरुपको सफलता पाएन । पार्टीका निर्णय प्रक्रियामा देउवाको एकलौटी चल्दा महामन्त्रीहरू निरीह बनेका छन् ।
महाधिवेशन भएको डेढ वर्षसम्म पनि कांग्रेसको केन्द्रीय समिति अपुरो छ । भ्रातृसंस्थाहरू निष्क्रिय छन् भने महाधिवेशनको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग र समितिहरू अहिलेसम्म गठन भएका छैनन् । हजारौं कार्यकर्ताले पार्टीमा जिम्मेवारी नपाएको गुनासो गरिरहेका बेला सभापति देउवाले भने कार्यकर्तालाई भूमिका दिन आलटाल गर्दै आएका छन् ।
सभापति देउवाले नचाहेकै कारण कांग्रेसको केन्द्रीय समिति कार्यकाल सकिन लाग्दासम्म पनि अपुरो छ । विधानबमोजिम छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरू गठन भएका छैनन् भने भ्रातृ संस्थाहरूको अवस्था भद्रगोल छ । नेताहरूले विभाग गठनदेखि भ्रातृ संस्थाको पुनःगठनसम्मका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पनि सभापति देउवाले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेले तत्कालै केन्द्रीय समिति बैठक बस्ने तयारी नरहेको बताए । ‘अहिले बैठकको तयारी छैन, गर्नैपर्ने कामहरूका विषयमा सभापतिले अनौपचारिकरुपमा छलफल गरिरहनुभएको होला, तर बैठक बोलाइएको छैन,’ उनले भने ।
कांग्रेसकै नेताहरूको एउटा झुण्ड भने पार्टीभित्र रुपान्तरणको खाँचो रहेको भन्दै अभियान लिएर देश दौडाहा गरिरहेको छ । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित नवोदित दलले पाएको मत र ती दलप्रतिको आकर्षण देखेर आत्तिएका कांग्रेसका नेताहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘कांग्रेसमा रुपान्तरण अभियान’ चलाएका छन् । केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायत नेताले नेतृत्व गरेको अभियानले सातै प्रदेशमा कार्यकर्ता भेला र प्रशिक्षण गरिरहेको छ ।