असार २९, २०८०
रौतहट — रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले मृतक साहको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको बताए । ‘मध्यराति सुतेकै स्थानमा साहको हत्या भएको प्रारम्भिक अनुसन्धानाट देखिएको छ,’ उनले भने, ‘घटनापछि मृतक साहका श्रीमती चन्दा साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं ।’ प्रहरी शुक्रबार बिहान २ बजे घटनास्थल पुगेको थियो । हत्या कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको एसपी बुढामगरले बताए ।
