काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न थालिएको छ।
तस्कर समूहले राजस्व छलेर ‘ब्रेक सु’ मा लुकाएर ल्याएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गाल्न सुरु गरेको हो । ब्रेक सुबाट सुन छुट्याएर गाल्ने काम सुरु भएको महाशाखाले जनाएको छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट चेकजाँच भई बाहिरिएको सुन गत साउन ३ गते राजस्व विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
यसअघि सोमबार टक्सार महाशाखाले सुनको तौल लिएको थियो । महाशाखाले लिएको सुनको तौलमा ६० किलो ७८९ ग्राम पाइएको छ ।
सुरुमा राजस्व आफैँले सुन तस्करी प्रकरणको अनुसन्धान अगाडि बढाएकोमा हाल उक्त जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिइएको छ । सीआईबीले राष्ट्र बैंकलाई सुन जोख्न आग्रह गरेपछि सुनको तौल लिने र गाल्ने कार्य थालिएको हो ।
साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट छुटेको करिब एक क्विन्टल सुन जोख्न विभागले साउन ४ गते राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।
सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परेकामा हाल १७ जना सीआईबीको हिरासतमा छन् । एक जना हाजिरी जमानतमा रिहा भएका छन् । सुन तस्करीमा ३ विदेशी नागरिकको पनि संलग्नता खुलेको छ ।
